मोदीले खोपकार्डमा किन राखे आफ्नो तस्वीर ?

काठमाडौं \ कोरोनाविरुद्धको खोप प्रमाणपत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर राखिएको विषयमा परेको मुद्दाबारे आगामी साता केरला हाइकोर्टमा सुनुवाइ हुँदैछ ।
पीटर नामका एक व्यक्तिले खोप प्रमाणपत्रमा मोदीको तस्वीर राखिएकोमा आपत्ति जनाउँदै रिट दायर गरेका थिए । मोदीको तस्वीर नभएको खोप प्रमाणपत्र उपलब्ध गराउन माग गर्दै उनले नेका छन्–मोदीको तस्वीर अंकित खोप प्रमाणपत्रले आफ्नो मौलिक अधिकारको हनन् भयो ।
मोदीविरुद्ध रिद दायर गर्ने ६२ वर्षीय पिटर भारतीय विपक्षी दल कांग्रेसका कार्यकर्ता हुन् । ‘मेरो खोप प्रमाणपत्रमा आफ्नो फोटो राखेर मोदीले नागरिकको निजी मामिलामा चोट पु¥याएका छन् । यो कार्य असंवैधानिक हो,’ कोट्टायमका उनले बीबीसीसँग भने, ‘म अनुरोध गर्न चाहन्छु, प्रधानमन्त्री मोदीले यस्तो लाजमर्दो हर्कत तत्काल बन्द गर्नुपर्छ ।’
‘लोकतन्त्रमा यस्तो कार्य एकदमै अनुचित छ । राष्ट्र अर्थात व्यक्तिका लागि यस्तो प्रयोगको कुनै अर्थ छैन ।’
गत अगस्टमा संसदमा बोल्दै स्वास्थ्य राज्यमन्त्री भारती प्रवीण पवारले ‘ठूलो सार्वजनिक हित’का लागि प्रमाणपत्रमा प्रधानमन्त्रीको तस्वीर राखिएको बताएकी थिइन् । खोप लगाएपछि पनि कोरोनाबाट बच्नका लागि आवश्यक पर्ने मापदण्ड पालनामा प्रेरित गर्न प्रमाणपत्रमा मोदीको तस्वीर राखिएको उनको तर्क थियो ।
पिटर प्रश्न गर्छन्–मेरो खोप प्रमाणपत्रमा मोदीको तस्वीर किन चाहियो ?
तर पिटरको तर्क छ, खोप लगाइसकेका व्यक्ति कोरोनाबाट बच्ने मापदण्ड पालनामा गर्ने व्यवहारबारे जानकार छन् । प्रमाणपत्रमा लेखिएको सन्देश उपदेश दिने बाहेक अरु खास केही छैन ।
पिटर भन्छन्, ‘मोदी न त हाम्रो पहिलो प्रधानमन्त्री हुन् न त खोप कार्यक्रम भारतमा पहिलो हो । तर कोभिड–१९ खोप अभियानलाई यस्तो देखाउन खोजिएको छ कि यो एक व्यक्तिको कार्यक्रम हो । जुन कार्यक्रम प्रधानमन्त्रीको प्रपोगाण्डा टुल हो ।’
सरकारी अस्पतालमा निःशुल्क खोप लगाउन मानिसको लामो लाइन लाग्ने गरेका कारण आफूले निजी अस्पतालबाट खोप लगाएको उनी बताउँछन् । उनी भन्छन्, ‘मैलै प्रति डोजको ७५० रुपैयाँ तिरेको छु । त्यसैले मेरो प्रमाणपत्रमा मोदीको तस्वीर किन ?’
केरला हाइकोर्टले केन्द्र र राज्य सरकारलाई यसबारे जवाफ दिनका लागि दुई हप्ताको समय दिएको छ । पिटरको रिटबारे भारतीय जनता पार्टीका दुई प्रवक्तासँग प्रतिक्रिया लिन खोजेपनि कुनै पनि प्रतिक्रिया दिन नमानेको बीबीसीले उल्लेख गरेको छ ।