मेस्सी र पीएसजीबीचको सम्झौता निष्कर्षमा पुगेको दाबी

लियोनल मेस्सीको भविष्यबारे अहिले ठूलो चर्चा र परिचर्चा छ । यसैबीच पीएसजीका मालिक कतारी राजकुमारका भाइ अल थानीले उनी पीएसजी आउने घोषणा गरेका छन् । खालिद बिन हमाद बिन खालिफा अल थानीले यस्तो दाबी गरेका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘सहमति औपचारिक रूपमा निष्कर्षमा पुगिसक्यो । केहीपछि घोषणा हुनेछ ।’
यो कुनै अस्वभाविक समाचार भने होइन । यसअघि शुक्रबार म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले आफ्नो क्लब मेस्सीलाई आबद्ध गर्नेमा नलागेको घोषणा गरेका थिए । उनले प्रि–म्याच पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका थिए । र, अहिलेको अवस्थामा यी दुई क्लबमात्रै मेस्सीलाई अनुबन्ध गर्न आर्थिक रूपमा सक्षम छन् ।
च्याम्पियन्स लिग जित्ने अभियानमा लागेको पीएसजीले यस सिजन यसअघि नै गोलकिपर गियानलुईगी डोनारुम्मा,सर्जियो रामोस, जर्जिनियो विज्नाल्डुमलगायत खेलाडी अनुबन्ध गरिसकेको छ ।