एनआरएन यूकेको निर्वाचन शुरू, मतदानमा भाग लिन उम्मेदवारहरुको अनुरोध

बेलायत / गैर आवासीय नेपाली संघ, एनसीसी यूकेको नयाँ कार्यसमिति चयन गर्न अनलाईन भोटिंग शुरू भएको छ। आज सोमबार मध्यान्ह बाह्र बजेबाट शुरु भएको निर्वाचन मंगलबार मध्यान्ह बाह्र बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ।
पूर्व निर्धारित कार्यतालिका अनुसार गत शनिबार, ३१ जुलाईमा नै निर्वाचन हुनुपर्नेमा निर्वाचन हुनु भन्दा केही घण्टा अगाडि निर्वाचन समितिले निर्वाचन स्थगित गर्दै अगस्ट २ को लागी सारेको थियो ।
यसैबीच समावेशी समूहको तर्फ़बाट अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगरले बेलायतवासी एनआरएनएका सबै पन्जीकृत मतदाताहरुलाई कसैको दबाब र प्रभावमा नपरी निर्धक्क भएर उत्साहपूर्वक मतदान गर्न आह्वान गरेका छन्। सोमबार बिहान एक अपील प्रकाशित गर्दै गाहामगरले ‘संस्थालाई शुद्धिकरण र बेलायतस्थित नेपाली समाजलाई एकीकरण’ गर्ने उद्देश्यले आफुहरु चुनावमा भाग लिइ रहेकाले आफु र आफ्नो टिमलाई मतदान गरी विजयी बनाउन अपिल गरे।
बेलायतस्थित भूतपूर्व गोर्खा सैनिक बाबा आमा, युवा, विद्यार्थी, महिला, व्यवसायी लगायत सम्पूर्ण नेपाली समुदायको समस्या र चाहनाका बारे म अवगत छु। यो संस्था र बेलायतस्थित नेपाली समाजको हितको लागि मैले चौबिसै घण्टा काम गर्ने छु,” एनआरएनए युकेमा दुइ पटक उपाध्यक्ष भै सकेका गाहा मगरले भने। “तपाइंहरु सबैको आशिर्वाद पाउनेमा हामी विश्वस्त छौं। “
उनले आफूले अगाडी सारेका सात बुंदे एजेन्डालाई कार्यान्वयन गर्न म्यान्डेट दिन पनि सबै मतदाताहरुलाई अपिल गरेका छन्।
यसैगरि आजको दिन – परिवर्तनको दिन भन्दै अध्यक्ष पदकी उमेदवार रोजिना प्रधान राईले संस्थागत विकास, स्वच्छ, पारदर्शी, सबैको अपनत्व हुने र साझा एनआरएन बनाउन सक्षम, ईमान्दार र संस्थागतहितका लागि काम गर्ने नेतृत्व चयन गर्न सबै मतदातामा अनुरोध गरेकी छन। साथै विगत २ बर्ष झै-झगडा, मुद्धा मामिला र आपसी खिचातानी हुंदाहुंदै पनि उल्लेख कामहरु गरेका छौं । यसैको जगमा नयां उचाई कायम गर्न आजको मतदानमा आफूलाई अध्यक्ष पदमा र टीमका सबै साथीहरुलाई मतका लागि अपिल गरेकी छन।
यस्तै अध्यक्षका अर्का उम्मेदवार दीपक श्रेष्ठले पनि आज हुने निर्वाचनमा सरिक हुन र आफूलाई मतदान गर्न अनुरोध गरेका छन् । ”यहाँको एक अमूल्य मतले हाम्रो यस अभियानमा एनआरएन युकेको संस्थागत विकास र जनसमुदायको सेवामा अर्थपूर्ण सहयोग पुग्नेमा हामी विश्वास दिलाउन चाहन्छौँ” श्रेष्ठले भनेका छन् ।
एनआरएनए बेलायतमा पहिलोपटक भईरहेको अनलाइन निर्वाचनमा ११ हजार ३६३ मतदाता रहेका छन्। अनलाईन भोटिंग जारी छ।