संगमले १० जनालाई सम्मान तथा पुरस्कार प्रदान गर्दै

संवाददाता
८ चैत्र २०७७, आईतवार १७:०७

हेटौंडा \ साहित्य संगम मकवानपुरले यसवर्ष साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । संगमको शनिबार बसेको बैठकले १० वटा सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।  मकवानपुरको अग्रणी साहित्य संस्था संगमले नगद २० हजार राशिको गोपालप्रसाद रिमाल स्मृति सम्मान कवि तथा नाटककार गोपाल पराजुलीलाई दिने निर्णय गरेकोसंगमका अध्यक्ष निमेष निखिलले जानकारी दिए ।

यस्तै आर्दश टोल विकास संस्था हेटौंडा–१० ले स्थापना गरेको १५ हजार ५ सय ५५ रुपैयाँ राशीको पारिजात स्मृति सम्मानबाट डा. अरुण उप्रेतीलाई सम्मान गरिने निर्णय भएको छ । यसैगरी, १५ हजार ५ सय ५५ राशिको मकवानपुर साहित्य श्री सम्मान अप्सरा तिम्सिना लम्साललाई प्रदान गरिने भएको छ । संगमले उनलाई मरणोपरान्त मकवानपुर साहित्य श्रीबाट सम्मानित गर्न लागेको हो ।

संगमले २१ हजार १ सय ११ रुपैयाँ राशीको भैरव स्मृति सम्मान वीरगञ्जका साहित्यकार् व्यङ्ग्यकार गणेश लाठलाई प्रदान गर्ने भएको छ भने सुभद्रादेवि मदन मुडवरी स्मृति सम्मान साहित्यकार राम बर्तोला आँशु लाई प्रदान गर्ने निर्णय भएको छ । मकवानपुरको पालुङ निवासी बर्तोलालाई नगद १० हजार राशीसहित सम्मान पत्र प्रदान गरिने जनाइएको छ । यस्तै श्यामप्रसाद शर्मा स्मृति साहित्य सम्मान मकवानपुरे व्यङ्ग्यकार आरसी रिजाललाई प्रदान गरिने भएको छ । रिजाललाई नगद १५ हजारसहित सम्मानपत्रले सम्मानित गर्ने संगमका सचिव डीबी बर्तौलाले जानकारी दिए ।

त्यसैगरी यसवर्षबाट सुरु गरिएको मंगलादेवि श्रेष्ठ स्मृति नारी सम्मान महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने भएको छ । शिक्षा तथा सािहत्यसेवी देव श्रेष्ठले माताको नाममा स्थापना गरेको उक्त सम्मानको राशी ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ । भेषनाथ अधिकारी स्मृति सम्मान साहित्यकार भुवनहरि सिग्देललाई प्रदान गरिने भएको छ । संगमका कार्यसमिति सदस्य विशाल अधिकारी आशुतोषले पिताको स्मृतिमा स्थापना गरेको यो सम्मान काठमाडौं निवासी सिग्देललाई नगद १५ हजार राशीसहित प्रदान गर्न लागिएको हो ।

यस्तै शिक्षासेवी डण्डीजंग शाहले छोराको स्मृतिमा स्थापना गरेको २ हजार ५ सय राशीको शेषजंग स्मृति कथा पुरस्कार चन्द्रोदय माविमा अध्ययनरत् छात्र उज्वल बराललाई प्रदान गर्ने निर्णय भएको छ । यसैगरी व्यङ्ग्यकार आरसी रिजालले माताको स्मृतिमा स्थापना गरेको ५ हजार राशिको णकुमारी साहित्य पुरस्कार यसबर्ष प्रशन्ना चौलागाईंलाई प्रदान गरिने भएको छ । सम्मान तथा पुरस्कार २०७८ वैशाख ११ गते संगमको नियमित सन्ध्यामा आयोजना गरिने विशेष साहित्यिक कार्यक्रममा प्रदान गरिने उपाध्यक्ष अनिता न्यौपानेले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*