पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाई

काठमाण्डौ/ विषेश अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा मिलनकुमार थापासहित तीन जनालाई सफाई दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले थापासहित डा प्रदीप ढकाल र अरुणकुमार श्रेष्ठलाई सफाइ हुने ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा गत असोज १४ गते तीन जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले जलहरी राख्ने क्रममा करिब डेढ किलो सुन हिनामिना भएको दाबी गर्दै रु एक करोड १७ लाख भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।