चितवनमा एकैदिन प्रधानमन्त्री ओली र प्रचण्ड–माधव समूहको छुट्टाछुट्टै भेला

संवाददाता
२० पुष २०७७, सोमबार १२:४७

चितवन \ राजनीतिक रुपमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी विभाजन भएपछि दुई समूहले छुट्टाछुट्टै कार्यक्रम गर्दै आइरहेका छन् । सोही अनुरुप चितवनमा पनि प्रधानमन्त्री केपी शर्मा ओली समूह र प्रचण्ड–माधव समूहको नेकपाको छुट्टाछुट्टै कार्यक्रम हुँदैछ । यी दुई कार्यक्रम आज (सोमबार) एकैदिन हुन लागेको हो ।

ओली समूह चितवनको अगुवा कार्यकर्ता भेला आज भरतपुरमा राखिएको छ । भेलालाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त भेलालाई नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेकपा केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेत, केन्द्रीय सदस्य तथा बागमती प्रदेश सह ईञ्चार्ज काशीनाथ अधिकारी, बागमती प्रदेश सचिव आनन्द पोखरेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा भरतपुर महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार बिहान ११ बजेबाट कार्यक्रम सुरु हुनेछ। भरतपुर महानगरपालिका वडा नं.१२, वसन्तचोक स्थित स्मार्ट पार्टी प्यालेसमा कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो ।

यस्तै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहको भेला पनि भरतपुरमा हुँदैछ । नेकपा भरतपुर महानगरपालिका कार्यालय कृष्णपुरमा कार्यक्रम हुन लागेको हो । सो कार्यालय साविक माओवादी केन्द्रको कार्यालय हो । एकीकरण पश्चात सो कार्यालयलाई महानगरको कार्यालय बनाइएको थियो भने साविक एमालेको कार्यालयलाई नेकपा पार्टी कार्यालय बनाइएको थियो । अहिले सो पार्टी कार्यालयलाई शसस्त्र र नेपाल प्रहरीले सुरक्षा दिएर राखेको छ ।

प्रचण्ड–माधव समूहको अगुवा कार्यकर्ता भेलालाई नेता भीम रावल, योगेश भट्टराई र रामकुमारी झाक्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*