बागमती प्रदेशसभामा २ विधयेक पारित, ३ विधयेक पेश

हेटौंडा \ बागमती प्रदेशसभा बैठकमा २ वटा विधयेक पारित भएका छन् भने ३ वटा विधयेक पेश भएका छन् ।
आइतबार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री कुमारी मोक्तानको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रतिवेदनसहित प्रस्तुत गरेको प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक र पर्यटन तथा संस्कृति मन्त्री दिपेन्द्र श्रेष्ठको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन सहितको प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक सर्वसम्मतिले पारित भएका छन् ।
त्यस्तै, प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले २ विधयेक पेश गरेका छन् । खनालले प्रदेश विपद व्यस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधयेक, प्रदेश संचारमाध्यम व्यवस्थान ऐन २०७५ लाई संशोधन गर्न बनेको विधयेक र प्रदेश अनुसन्धान व्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक पेश गरेका छन् ।
त्यसैगरी, खनाले पेश गरेको केही प्रदेश ऐन संशोधन गर्न बनेको विधयेक दफावार छलफलका लागि संसदीय समितिमा पठाउने निर्णय भएको छ ।