कांग्रेसको एक महिने चुनावी अभियान आजदेखि

संवाददाता
२९ फाल्गुन २०७८, आईतवार ०८:०९

नेपाली कांग्रेसले आजदेखि चुनावी अभियान सुरु गर्दैछ । वैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षित गरेर कांग्रेसले एक महिने अभियान सुरु गर्न लागेको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।

अभियानको लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरेको उहाँले बताउनुभयो । अभियानको आज पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने छ ।

चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसको दृष्टिकोण, राष्ट्रिय मुद्दाहरूमा लिइएका अडान र महत्त्वपूर्ण विषयलाई नागरिक समक्ष पुर्याउने प्रवक्ता महतले बताउनुभयो । स्थानीय तहको चुनावको लागि माहोल बनाउने लगायत आठ वटा मुद्दामा अभियान केन्द्रित हुने छ।

पार्टीका नेता–कार्यकर्ताहरुलाई जिम्मेवारी बाँडफाँट, एमसीसी सम्झौता पारित गरेको बारेमा यथार्त कुरा नागरिकलाई जानकारी गराउने, कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने र नेकपा सरकारको गएकाे तीन वर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण नागरिक समक्ष व्यापक रूपमा राख्ने प्रवक्ता महतले बताउनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*