वरिष्ठ संगीतकार दीपक जंगमलाई विजुलीमाया वनः अन्तर्राष्ट्रिय संगीत पुरस्कार

खबरबाकस \ भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जङ्गमलाई प्रदान गरेको छ । भीम विरागको १० औं स्मृती दिवसको अवसरमा शनिबार हेटौंडामा प्रतिष्ठानले एक सांगीतिक समारोहका बीच उक्त पुरस्कार प्रदान गरेको हो ।
हेटौंडा व्यवसायी/समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नाममा विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार स्थापना गरेका हुन् । २०६४ साल देखी प्रतिष्ठानको व्यवस्थापनमा हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिदै आइरहेको छ ।
प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एल बि क्षेत्रीको प्रमुख अतिथ्यतामा वरिष्ठ संगीतकार जंगमलाई एक लाख नगद सहित दोसल्लाले पुरस्कृत गरिएको थियो । २०१० सालमा भक्तपुरमा जन्मिनु भएका संगीतकार जङ्गमले हालसम्म चार हजार भन्दा बढी गीतमा संगीत भरेका छन् भने दुई सय भन्दा बढी गीतमा आफ्ना स्वर दिएका छन् ।
उक्त पुरस्कार सँगसँगै भीमविराग युवा संगीत पुरस्कार २०७८ बाट लोकप्रिय गायक शीव परियारलाई नगद २५ हजार सहित पुरस्कृत गरिएको छ । शिक्षाप्रेमी निरा गोर्खालीले उक्त पुरस्कार सौजन्य गर्नुभएको थियो । पुरस्कार प्रदान पश्चात जंगम र परियारले आफ्नो सांगीगितक प्रस्तुती दिनुभएको थियो । कार्यक्रममा विभिन्न कला, साहित्य, संगीतक्षेत्रका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।