राज्यमन्त्री प्रजाद्वारा खैराङमा स्वास्थ्य सेवा केन्द्र उद्घाटन

संवाददाता
२८ फाल्गुन २०७८, शनिबार ०७:४८

हेटौंडा \ मकवानपुरको राक्सिराङ गाउँपालिका-९ स्थित कोखारीमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ ।

करिब ३८ लाख रुपैयाँ लागतमा निर्मित स्वास्थ्य सेवा केन्द्र भवनको शुक्रबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले उद्घाटन गरेका हुन् । राक्सिराङका विभिन्न वडामा स्वास्थ्य ईकाईका पक्की भवन निर्माण गर्ने क्रममा कोखारीमा पनि स्वास्थ्य ईकाईको भवन निर्माण गरिएको हो ।

स्वास्थ्य ईकाईको भवन उद्घाटन गर्दै राज्यमन्त्री प्रजाले सपना बाँड्ने कम्युनिष्टहरुले केही काम गर्न नसकेकाले अब विकासको जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए । कांग्रेसले नेतृत्व गरेको विकट राक्सिराङ गाउँपालिकामा विकासका धेरै काम गर्न सफल भएको भन्दै उनले प्रशंसा गरे । शिक्षा, स्वास्थ्य, यातायात, पूर्वाधारलगायतको क्षेत्रमा महत्वपूर्ण काम भएको भन्दै आफ्नो कार्यकालमा पनि राक्सिराङमा प्रयाप्त बजेट छुट्याउने प्रतिवद्धता उनले जनाए ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकाको बजेटले धान्न नसकेका योजनाहरु प्रदेशबाट छुट्याउन राज्यमन्त्री प्रजालाई आग्रह गरे । विकासका लागि अझै समस्या र चुनौतीहरु धेरै रहेको स्मरण गर्दै उनले सबैको साथ र सहयोग लिएर राक्सिराङको आवश्यकता पूरा गर्न आफूले प्रयाप्त काम गरेको उनको दावी थियो ।

राक्सिराङ गाउँपालिका ९ नम्बर वडामा अध्यक्ष रामकुमार बाल्पा थिङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, बागेश्वरी आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन मल्ल ठकुरी, राज्यमन्त्रीका निजी सचिव खेम चेपाङ, कोखारी स्वास्थ्य सेवा केन्द्रका कर्मचारी जीवन ठकुरी, निर्माण व्यवसायीका प्रतिनिधि बालकृष्ण खत्रीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*