रसुवागढी नाकामा आयात बढाउने सहमति, मङ्गलवारदेखि थप सामग्री आयात हुने

संवाददाता
२७ फाल्गुन २०७८, शुक्रबार ०८:२६

रसुवा \  चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात बढाउने सहमति भएको छ । नेपाल चीन सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरू बीच भएको भर्चुअल बैठकमा नाकाबाट आयात बढाउने विषयमा चिनियाँ पक्ष सहमत भएको हो । आउँदो चैत १ गते मङ्गलवारदेखि सामग्री आयात बढ्ने रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिनुभयो ।

मङ्गलवारदेखि दैनिक १४ वटा कन्टेनरमा सामग्री आउनेछ । अहिले नाकाबाट दैनिक ९ वटा कन्टेनरमा सामग्री आयात भइरहेको छ । कोभिड–१९ को प्रभाव कम हुँदै गएको र रसुवाका धेरैजसो नागरिकले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेकाले नाका कोभिड पूर्वकै अवस्थामा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।

नेपाली पक्षले दैनिक २५ वटा कन्टेनरमा सामग्री ल्याउन प्रस्ताव गरेको थियो । यस्तै बैठकमा लामो समयदेखि निर्यात रोकिएका कारण नेपाली सामग्री चीनतर्फ निकासी हुन नपाएको विषयमा समेत छलफल भएको छ ।

बैठकमा केरुङमा व्यापार व्यवसाय गर्दै आएका नेपाली फर्किने गरी सहजीकरण गर्न, नेपालमा आयात हुन बाँकी २५ हजार मेट्रिक टन रासायनिक मल भित्र्याउने व्यवस्था मिलाउन, चीन सरकारको अनुदानमा टिमुरेमा निर्माण हुन लागेको सुक्खा बन्दरगाहको कामलाई तीव्रता दिन आग्रह गरिएको छ ।

यस्तै चीन सरकारको अनुदानमा सुरु हुन लागेको स्याफ्रु रसुवागढी सडक खण्डको स्तरोन्नतिको काम सुरु गर्न र सीमा नाकामा हुन सक्ने अवैध चोरी सिकारी र अपराध नियन्त्रणमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी जैसीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*