भोली मकवानपुरगढीको सबै वडा बालमैत्री घोषणा हुदैं

श्रीराम अर्जुन
२६ फाल्गुन २०७८, बिहीबार १५:०९

 खबरबाकस  \ मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई यहि चैत्र १२ गते बालमैत्री स्थानीय शासन घोषणा गरिने भएको छ । बालमैत्री गाउँपालिका घोषणाको लागि पुग्नुपर्ने सुचकहरु सतप्रतिशत पुगिसकेकाले घोषणाको अन्तिम चरणमा पुगेको गाउँपालिकाको बालमैत्री घोषणा कार्यक्रम संयोजक रामप्रसाद दाहालले बताए ।

उनले बुधबार अन्तिम सुचक मापन तथा बालमैत्री दिगोपनाको रणनितिक योजना निर्माण गर्ने कार्यशाला कार्यक्रम गरिसकिएको बताउदैं भोली शुक्रबार वडाहरु घोषणा गरिने र १२ गते शनिबार गाउँपालिका घोषणा गरिने बताए ।

वडालाई बाल विवाह मुक्त, निकृष्ट बालश्रम मुक्त वडा घोषणा पश्चात वडालाई बालमैत्री घोषणा गरिने उनले बताए । गाउँपालिकाले अनुगमन र मुल्यांकन पछि कार्यपालिकाको बैठक बसेर भोली गाउँपालिकाको ८ वटै वडा वडा घोषणा गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताए । उनले वडाहरु घोषणा भएसँगै गाउँपालिका घोषणा गर्न भने सबै सुचकहरु जिल्ला समन्वय समिति र बागमती प्रदेश सरकारले अनुगमन, मुल्यांकन हुने र १२ गते शनिबार बृहत कार्यक्रमको आयोजना गरि घोषणा गरिने बताए ।

माथिल्लो निकायले सुचकहरुको प्रतिवेदन ठिक छ भने पछि गाउँपालिका घोषणा गरिनेछ । गाउँपालिकाले बालमैत्री घोषणा गर्नुभन्दा अघि पञ्चवर्षिय दिगोपना राख्न रणनितिक योजना समेत बनाइसकेको उनले बताए ।

गाउँपालिकाले प्रत्येक वडामा बालमैत्री संयोजक राखी कामलाई तीव्रता दिइएको थियो । २०७८ मंसिरमा घोषणा गर्न तयारी रहदाँ रहदैँ कोरोना कहरका कारण फागुन चैत्र सम्म पुगेको संयोजक दाहालले बताए । गाउँपालिकाले बालमैत्री स्थानीय शासन घोषणा निर्देशिका २०७८मा रहि ५१ वटा सुचकमा रहेर काम गरेको थियो । ५१ वटा सुचकहरुमा बाँच्न पाउने अधिकारमा १४ वटा, संरक्षणको अधिकारमा १० वटा, विकासको अधिकारमा ६ वटा, सहभागिताको अधिकारमा ६ वटा र संस्थागत सुचकमा १५ वटा रहेका छन् ।

बालमैत्री घोषणा गर्ने नेपालको गाउँपालिका अन्तरगत चौथो, बागमती प्रदेशमा तेस्रो र मकवानपुर जिल्लामा पनि तेस्रो मकवानपुरगढी गाउँपालिका रहेको संयोजक दाहालले बताए । उनले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार भने नेपालकै दोस्रो गाउँपालिकाको रुपमा मकवानपुरगढी रहेको बताए । उनले पहिलो गाउँपालिका भने पाल्पा जिल्लाको रम्भा गाउँपालिका रहेको बताए । कार्यान्वयन निर्देशिका २०७८ मा ५१ वटा सुचक छन् भने कार्यान्वयन निर्देशिका २०६८ मा ३९ वटा सुचकमा रहेर काम गरिएको थियो ।

शुक्रबार हुने वडा घोषणा कार्यक्रममा वडाले आफ्नो तयारी अन्तिम गरेको छ । सबै वडाले वडालाई बाल विवाह मुक्त, निकृष्ट बालश्रम मुक्त वडा घोषणा गर्दै बाल मैत्री घोषणा गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*