पाथिभारा मन्दिरमा १ महिने कोटीहोम हुने

हेटौंडा \ हेटौंडा-१ भैरवडाडाँमा रहेको पाथिभरा मन्दिरमा १ महिने लामो कोटीहोम हुने भएको छ। मंगलबार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन २६ गतेबाट बैशाख १ गतेसम्म पाथीभरा मन्दिर परिसरमा कोटीहोम गर्न लागिएको बताइएको छ।
२०६५ सालबाट निरन्तर प्रत्येक वर्ष मन्दिरमा अखण्ड कोटीहोम गरिदै आएकोमा निरन्तरता दिदै यस वर्ष पनि आयोजना गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशव देवकोटाले बताएका छन्।
भगवती माताको मन्दिरमा महायज्ञ सतचण्डी र लक्ष्यचण्डी सहित जडबुटी हवन सहित १ महिने कोटीहोमको आयोजना गरिएको मन्दिरका पुजारी भरत प्रसाद लम्सालले बताए।
विशेष पुजाआजा गर्ने भक्तजनलाई समेटिएर आयोजना गर्न लागिएको र कोटीहोमका लागि कसैसँगै सहयोगको माग नगरेको र स्वयं कोटीहोममा आउने स्थानीय तथा भक्तजनबाट प्राप्त सहयोगबाट सञ्चालन गरिने मन्दिरका सचिव सालिकराम पुडासैनीले बताए।