आइसीसीको धम्की र दबाब स्वीकार्य छैन: एनआरएनए (एनसीसी) अध्यक्षहरु

काठमाडौँ (जीएनएन) । गैर आवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद (एनसीसी) का अध्यक्षहरुले नयाँ निर्वाचित भएको समितिले पठाएको प्रतिनिधिको टुंगो लागेपछि मात्रै शुल्क पठाउने बताएका छन् । जीएनएन नेटवर्कद्वारा शनिबार आयोजित फेसबुक लाइभ कार्यक्रममा बोल्दै अमेरिका, युके, क्यानडा, जापानलगायतका एनसीसीका प्रतिनिधिहरुले केन्द्रीय सचिवालयले जथाभावी प्रतिनिधिहरुको नाम प्रकाशित गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
कामचलाउ समितिका अध्यक्ष कुमार पन्तले एकपक्षीय रुपमा आफूखुसी पत्र पठाउँदै त्रास देखाएर शुल्क पठाउन दबाब दिएकोप्रति उनीहरुले खेद व्यक्त गरे । मनलाग्दी तरिकाले प्रतिनिधिको नामावली सार्वजनिक गरिएकोमा उनीहरुले असन्तुष्टि जनाएका हुन् । वर्तमान आइसीसी काम चलाउ समितिले एनसीसीहरुलाई शूल्क पठाउन धम्कीपूर्ण भाषा प्रयोग गरिएको भन्दै आफूहरुले पठाएको प्रतिनिधिको टुंगो लागेपछि मात्रै शुल्क पठाउने उनीहरुले बताए ।
अन्तरक्रियामा बोल्दै एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले आफूहरुले पठाएको प्रतिनिधिको लिस्ट अझैसम्म स्वीकार नगरिएको बताए । ‘वर्तमान समितिले प्रकाशित गरेको लिस्टमा मनलाग्दी तरिकाले फेरबदल गर्ने गरिएको छ । हामीलाई नसोधी परिवर्तन गर्ने काम भैरहेको छ । उहाँहरुले एनसीसीको अधिकार हनन गर्नुभएको छ । यसमा हामी सबैको आपत्ति छ । हामीले पठाएका प्रतिनिधिहरु जस्ताको तस्तै स्वीकार गरेर चुनाव गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने । आफूहरुलाई वर्तमान कामचलाउ समितिले पत्र पठाउँदा पनि नियतवश पठाइएको अध्यक्ष सुवेदीले बताए । ‘हामीहरुले सर्वसम्मत निर्णय गरेर पठाएका छौं । आइसीसीले पठाएको पत्रप्रति हामी सकारात्मक छैनौं । हाम्रो भावनाको अपमान भएको छ । कसले कसरी पठाएको भन्ने पनि छैन । हामीले अमेरिकाबाट रकम पठाउँदा प्रक्रिया पुराउनुपर्छ’ अध्यक्ष सुवेदीले भने ।
एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले एनआरएनए युके युकेको कानून अनुसार च्यारिटीको रुपमा दर्ता गरिएकाले त्यसै अनुसार पैसा पठाउने बताए । ‘उहाँहरुले तर्साएर पैसा माग्ने काम गर्नु भएको छ। तर प्रक्रिया नपुराएर कुनै पनि लेभी रिलिज हुंदैन,’ उनले भने। एनआरएनए युकेले अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) सँग समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेपछि मात्रै सदस्यता शुल्क केन्द्रमा पठाउने उनले बताए । अध्यक्ष पन्तले आफुलाई लेखेको व्यक्तिगत इमेल एनआरएनए युकेका ११ हजार ६६३ जना पन्जीकृत सदस्यलाई पठाएर आफ्नो अपमान गरेको उनले बताए । ‘मेरो सोलिसिटरले ३ पेज लामो पत्र ड्राफ्ट गरेका छन् । मैले युकेको सूचना आयुक्तको कार्यालय (आइसीओ) मा रिपोर्ट गर्दैछु,’ गाहा मगरले भने । उनले म्याद सकिएको कार्य समितिलाई यस्तो व्यवहार नगर्न चेतावनी पनि दिए ।
‘केन्द्रले बदनियत राखेर काम गरेको अनुभूति’ त्यसैगरी एनसीसी क्यानाडाका अध्यक्ष दीपक गौतमले केन्द्रले बदनियत राखेर काम गरेको अनुभूति भएको बताए । ‘क्यानडाबाट १४९ जनाको भोटर लिस्ट पठाएको छ । तर, केन्द्रले स्विकार गरेको छैन । कतिपय साथीहरुको नाम स्विकार गरिएको छैन । हामीले पठाएको लिस्ट के कारणले अस्वीकृत भएको हो कारण थाहा पाउन सकिएको छैन,’ अध्यक्ष गौतमले भने, ‘विधि विधान कसैलाई रोक्न बनाइएको होइन । निर्विरोध पठाएका सदस्य फालिनु हुँदैन । हामीले उठाएका मुद्दालाई समस्याका समाधानका विषयमा एक पटक पनि सोध्नु भएन ।’ गौतमले एनसीसीको आत्मसम्मानमा चोट पुगेको बताए । आफूहरुले समस्या समाधानका लागि ५ जनाको समिति गठन गरेको र उक्त समितिले आइसीसीसँग वार्ता गरेर समस्याको समाधान गर्ने पनि उनले बताए ।
त्यसैगरी एनआरएन जापानका संस्थापक अध्यक्ष तथा संयोजक राजन प्रधानांगले आफुहरुले प्रक्रिया पुरा गरेर मात्रै पैसा पठाउने र केन्द्रिय सचिवालयको धम्कीबाट नतर्सने बताएका छन् । उनले आफू स्वयम् प्रतिनिधिको लिस्टमा नपरेको पनि बताए । ‘भूपु महासचिव तथा आइसीसी सदस्यहरुको पनि प्रतिनिधिमा नाम प्रकाशित गरिएको छैन । आफ्नो पक्षमा पर्ने व्यक्तिको मात्रै नाम राखिएको छ’, उनले भने, ‘संस्थापक अध्यक्ष हुनुका साथै मेरो नाम स्मार्ट मेम्बरशिपमा दर्ता हुँदाहुँदै पनि स्विकृत गरेको छैन । किन यस्तो गरेको भन्ने मलाई नै थाहा छैन ।’
उनले आफूलाई धम्कीपूर्ण इमेलहरु आएको पनि बताए । जापानका सबै सदस्यहरुको रकम संकलन गरेर राखेको र विवादित भएका कारण पुरानै एकाउन्टमा रकम राखिएको उनले बताए । ‘आइसीसी भनेको एनसीसी बनेर चल्ने हो । एनसीसीको लेभीबाट चल्ने संस्था हो । जापानमा भएका समस्याहरु हामीले आइसीसीलाई धेरै पटक भन्यौं । तर, वास्ता नै गरेन’, प्रधानांगले भने, ‘जापानमा बस्ने सबै नेपाली मिलेर बसेको बेलामा जापानको चुनावदेखि सबै विवादित भैरहेको छ । गल्तीलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ । झगडा गराउने सिस्टम आइसीसीले नै ल्याएको पनि उनले बताए ।
अन्तर्र्राष्ट्रिय कानुनका ज्ञाता एनआरएनए जापानका पूर्व सल्लाहकार डा. बलराम श्रेष्ठले अहिलेको समितिले सबै सदस्यहरुलाई धम्कीपूर्ण इमेल मात्र पठाएको नभई सदस्यहरुको प्राइभेसी पनि भंग गरेको बताए । ‘प्राइभेसी ल’ को उल्लंघन गरिएको छ । एनसीसीको आधिकारिक व्यक्तिलाई नपठाएर सबै सदस्यलाई एकको अर्कालाई जानकारी गराउने उद्देश्यले पत्राचार गरेको उनले बताए ।
एनआरएनएको विधानमा शुल्क रोकिएको कारणले एनसीसी खारेज हुने कहिँ कतै नलेखिएको उनले स्पष्ट पारे । विधान सबै पढ्दा पनि पैसा पठाउन ढिला भएको कारणले एनसीसी खारेज हुने भनेर नलेखिएकोले अध्यक्ष कुमार पन्तले निर्वाचनको नजिकै धम्की दिएर दबाब दिन खोजेको उनले स्पष्ट पारे । “यसको खुलेर विरोध गर्नु पर्छ । धम्काएर इमेल पठाउनु गलत हो,” डा. श्रेष्ठले भने।
अन्तरक्रियाको संचालन पत्रकार कृष्ण केसीले गरेका थिए।
कार्यक्रमको भिडियो यो लिंकमा गएर हेर्न सकिन्छ :
https://www.facebook.com/GlobalNepalese/videos/748567579448733