नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्वाचित

संवाददाता
२१ फाल्गुन २०७८, शनिबार १५:५४

नेपाली कांग्रेस चितवनको सभापति पदमा राजेश्वर खनाल निर्वाचित भएका छन् । कांग्रेस अधिवेशनको पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका खनाललाई दोस्रो चरणमा संस्थापन पक्षका मिलनबाबु श्रेष्ठले समेत समर्थन गरेसँगै खनाल सभापतिमा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेस चितवनको सभापति पदका लागि दोस्रो चरणको मतदान हुने तयारी हुदै गर्दा श्रेष्ठले खनाललाई समर्थन गरेपछि दोस्रो चरणको निर्वाचन गर्नु परेन। हिजो शुक्रबार भएको पहिलो चरणको मतदानमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा जानुपर्ने थियो । पाँच जना उम्मेदवारबीचको प्रतिस्पर्धामा राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठले धेरै मत ल्याएका थिए । संस्थापन इतरको कोइराला समूहले सभापतिको साझा उम्मेदवार चयन गर्न नसकेपछि चार जनाले एक्कै एक्लै चुनावको मैदानमा होमिएका थिए । शेखर कोइराला निकटका खनालले ७४६ र शेरबहादुर देउवा निकटका श्रेष्ठले ६६२ मत ल्याएका थिए ।

पहिलो चरणको मतदानमा अर्का उम्मेद्वार उत्तम जोशीले ४७२, प्रा. डा सूर्यकान्त घिमिरेले ४२६ र कैलाश कोइरालाले ४१२ मत प्राप्त गरेका थिए । घिमिरे र जोशीले खनाललाई दोस्रो चरणको लागि समर्थन रहेको बताएका थिए । पहिलो चरणमा दुई हजार ८२० मत खसेको थियो।

नवनिवाचित कांग्रेस चितवन सभापति खनाल अर्थशास्त्र प्राध्यापन पेसामा संलग्न रहनुको साथै नेविसंघको केन्द्रीय सदस्य, तरुण दलको जिल्ला सचिव र अध्यक्ष भएका थिए । पार्टीको उपसभापति पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । सचिवमा ८ र सहसचिवमा १० जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । महासमिति सदस्य, कार्यसमितिका केही सदस्यहरु सर्वसम्मत चयन भएका छन् । अब अन्य पदाधिकारीहरूको मत क्रमस गन्दै जाने तयारी भएको निर्वाचन समितिले जनाएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*