मानव अधिकार रक्षक सम्बन्धी दुई दिने प्रादेशिक सम्मेलन हुने

खबरबाकस \ राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशको आयोजनामा मानव अधिकार रक्षक सम्बन्धी दुई दिने प्रादेशिक सम्मेलन हुने भएको छ । सातवटै प्रदेशमा भोली शुक्रबार र शनिबार एकै पटक सम्मेलन सुरु गरिने जनाइएको छ ।
हेटौंडामा पत्रकार सम्मेलन गर्दै मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख यज्ञ प्रसाद अधिकारीले पहिलो पटक देशको सात वटै प्रदेशमा प्रादेशिक सम्मेलन हुने बताएका हुन् । उनले २०७४ सालमा राष्ट्रिय सम्मेलन पछि पहिलो पटक प्रदेशमा सम्मेलन आयोजना गरिएको बताए । मानव अधिकार रक्षकका रक्षा, चुनौती, समस्याहरुलाई छलफल गरि एउटा घोषणापत्र तयार पारी सरकारलाई बुझाउने बताएका थिए ।
पत्रकार सम्मेलनमा आयोगका सदस्य तथा प्रादेशकि सम्मेलनका संयोजक लिली थापाले रक्षकले गरेको कामको आत्मसम्मान नपाउनका साथै राज्यले सुरक्षा, सम्मान र काम गर्ने वातावरण सिर्जना नभएको बताइन् ।
प्रादेशिक सम्मेलनमा ३० वटा भन्दा बढी मानव अधिकारका संघसंस्थाका प्रतिनिधि, पत्रकार महासंघका गरि १३० जनाले सहभागिता रहने जनाइएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्रीको उपस्थितीमा सम्मेलनको उद्घाटन गरिने अधिकारीले बताए । सात वटै प्रदेशमा मुख्यमन्त्रीले नै उद्घाटन गरिने कार्यक्रम तय भएको छ । सम्मेलन पश्चात उठेका विषयवस्तुलाई तयार पारी सरकारलाई एकमुष्ट बुझाउने अधिकारीले बताए ।
उनले प्रदेशस्तरमा मानव अधिकार रक्षकहरुको अवस्थाको बारेमा छलफल, अध्ययन, विश्लेषण गरिनुका साथै रक्षकहरुको भूमिका र जवाफदेहिताको अवस्था, समिक्षा र आगामी दिनमा रक्षकहरुको भूमिकालाई थप प्रभावकारी बनाउन सम्मेलनको आयोजना गरिएको बताए ।