यस वर्षको भीमविराग संगीत पुरस्कार दीपक जङ्गमलाई दिइने

संवाददाता
१५ फाल्गुन २०७८, आईतवार १२:४६

खबरबाकस \ भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको विजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जङ्गमलाई प्रदान गरिने भएको छ । आइबार हेटौंडामा प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै उक्त पुरस्कारबारे जानकारी गराइएको थियो ।

हेटौंडा व्यवसायी/समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नाममा विजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार स्थापना गरेका हुन् । २०६४ साल देखी प्रतिष्ठानको व्यवस्थापनमा हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिदै आइरहेको छ ।

२०१० सालमा भक्तपुरमा जन्मिनु भएका संगीतकार जङ्गमले हालसम्म चार हजार भन्दा बढी गीतमा संगीत भरेका छन् भने दुई सय भन्दा बढी गीतमा आफ्ना स्वर दिएका छन् ।

फागुन २७ गते शनिबार एक विषेश समारोहका बीच संगीतकार जङ्गमलाई उक्त पुरस्कार प्रदान गरिने छ । उक्त पुरस्कार सँगसँगै अन्य १० वटा पुरस्कार पनि प्रतिष्ठानको व्यवस्थापनमा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष ह्यग्रिव आचार्यले बताउनुभयो ।

२०६४ सालमा वरिष्ठ संगीतकार अम्बर गुरुङलाई पुरस्कार प्रदान गरि सुरु गरिएको पुरस्कार गतवर्ष नेपाली भाषी भारत दार्जिलिङकी गायिका दाबा ग्याल्मोलाई प्रदान गरिएको थियो ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका सल्लाहकार तथा वरिष्ठ संगीतकार तुल्सी थापा, मुक्तिगोविन्द वैद्य, शुसिला मानन्धर, उपाध्यक्ष विष्णुगोपाल महर्जन, कोषाध्यक्ष निरा शर्मा, सचिव ह्यग्रिव आचार्य, पुरस्कार स्थापना गर्ने समाजसेवी तथा संगीतप्रेमी कन्हैयाकृष्ण श्रेष्ठ, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*