धादिङका ३ सय ५० विपन्न चेपाङ परिवारलाई न्यानाे कपडा

संवाददाता
११ फाल्गुन २०७८, बुधबार ०९:४९

हेटाैंडा \  नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले धादिङ जिल्लाका दुइवटा गाउँपालिकाका ३ सय ५० विपन्न चेपाङ परिवारलाई न्यानाे कपडा वितरण गरेकाे छ ।

मंगलबार एक कार्यकमकाबीच गजुरी गाउँपालिका ४ भीरकटेरी, वडा नम्बर ६ स्याङ्मैडाँडा र बेनिघाट राेराङ गाउँपालिका ३ ओरबाङका चेपाङ परिवारलाई जाडाेबाट बच्न न्यानाे कपडा (ब्ल्याङ्केट) वितरण गरिएकाे हाे ।

स्याङ्मैडाँडामा १७८ परिवार र ओरबाङमा १४२ र भीरकटेरीमा ३० परिवारलाई ब्लाङ्केट सहयाेग गरिएकाे हाे । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बागमती प्रदेशका भाैतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, महाधिवेशन प्रतिनिधि शिव सुवेदी, बिमला चेपाङ, बेनिघाट राेराङ गाउँपालिकाका पार्टी सभापति ऋषि त्रिपाठी, गजुरी ४ का निर्वाचित वडाध्यक्ष सुरेन्द्र चेपाङ, ६ नम्बर वडा सभापति गाेविन्द अधिकारीलगायतका नेता कार्यकर्ताकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा बाेल्दै कांग्रेस बागमती प्रदेश सभापति बानियाँले गरिबलाई सक्षम र सबल बनाउन लागिपर्ने एक मात्र पार्टी कांग्रेस भएकाे दावी गरे । कम्युनिष्टले गरिब दुखीकाे नाममा राजनीति गरेकाे तर गरिबलाई झनै गरिब बनाउने काम गरेकाे उनकाे भनाइ थियाे ।

चेपाङ समुदायबाट पहिलाेपटक मन्त्री बनेका बागमती प्रदेशका भाैतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले कम्युनिष्ट सरकार भ्रष्टाचार र अनियमिततामा डुबेर सत्ताच्युत भएका कारण अबकाे मुलुककाे विकासकाे कार्यभार कांग्रेसकाे काँधमा आएकाे बताए । चेपाङ समुदायका विकास र उन्नयनकाे लागि आफ्नाे कार्यकालमा महत्वपूर्ण कार्य गर्ने प्रतिवद्धता पनि जनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*