हल्का रमाइलो र जुठे टिमबाट गोरखाका ६६ परिवारलाई खाद्यान्न

संवाददाता
३ असार २०७८, बिहीबार ०८:५४

दुई नेपाली टेलिशृंखला ‘हल्का रमाइलो’ र ‘जुठे’को टिमले गोरखामा ६६ विपन्न परिवारलाई राहत वितरण गरेको छ । दुवै टेलिशृंखलाका मुख्य पात्र, लेखक तथा निर्देशकद्वय मरिचमान श्रेष्ठ र राजु पौडेलको नेतृत्वमा मंगलबार वर्षाको प्रवाह नगरी गोरखाको गण्डकी गाउँपालिका-१ मा पुगेर राहत वितरण गर्नुभएको हो ।

त्यहाँ रहेका सुनार र परियारका ५० घर त्यस्तै चेपाङ, नेवार र गुरुङका १६ घर गरी जम्मा ६६ घरधुरीमा राहत वितरण गरिएको मरिचमान श्रेष्ठले जानकारी दिनुभयो । कलाकारहरू उक्त स्थानमा पुगेर खाद्यान्न सामग्री घरघरसम्म बोकेरै हिँड्नु भएको थियो । ‘जुठे’का कलाकार रवि गिरीसँगै विद्या कार्की, रामबाबु रेग्मी यस्तै हल्का रमाइलोका कृष्ण सिवाकोटी, अनिता बस्नेतलगायतको कलाकारको टिम वितरणस्थलमै पुगेको थियो । यस्तै बल्छिले आफूहरूले वितरण गरेको खाद्यान्नमा कुनै व्यक्ति वा संघसंस्थाबाट उठाइएको रकम नभएको प्रष्ट पार्नुभएको छ ।

लेखक, निर्देशक तथा कलाकार राजु पौडेलले आफूहरूले सकेको सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने बताउनु भएको छ । कलाकार सिवाकोटीले अन्य कलाकारले विभिन्न ठाउँमा सहयोग गरिरहनु भएको तर अधिकांश सहयोग शहरमुखी भएकाले आफूहरू गाउँमा कोरोना भाइरस तथा निषेधाज्ञाले समस्यामा परेकालाई सहयोग गरेको बताउनुभयो । उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष होमबहादुर राना, वडा सदस्य मीनबहादुर सुनारसँगै ललीता अधिकारी, मुक्तान गुरुङलगायतको टिमले सहजीकरण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*