पत्रकार महासंघ बेलायतद्वारा बेलायतका पाँच अग्रज संचारकर्मीहरु सम्मानीत

बेलायत / नेपाल पत्रकार महासंघ युके शाखाले पाँचौँ अधिवेसनको अवसर पारेर बेलायतमा बसोबासरत पाँच अग्रज मिडियाकर्मीहरुलाई आज सम्मान गरेको छ ।
यसरी सम्मानित हुनेहरुमा बीबीसी नेपाली सेवाका पूर्व पत्रकारहरु सुमन खरेल र भगिरथ योगी, राष्ट्रिय समाचार समितिका पूर्व प्रधानसम्पादक चिरन्जीवी पौड्याल, नेपाली टिभीका संस्थापक विजय थापा र बेलायतबाट सन् १९९० को दशकमा प्रकाशित सगरमाथा टाइम्सका सम्पादक सुरेशजंग शाह रहेका छन् ।
शाखाले हरेक अधिवेसनको अवसरमा पारेर हाल बेलायतमा बसोबासरत अग्रज पत्रकारहरुलाई सम्मान गर्ने गरेको छ ।
यसअघि सन् २०१८ मा सम्पन्न चौथो अधिवेसनका अवसरमा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, बीएफबीएस गोरखा रेडियोका पूर्व महाप्रबन्धक खेम गुरुङ, रेडियो बिजिडब्ल्यूएसका प्रबन्ध निर्देशक मेजर रिटायर्ड सोनामछिरिङ शेर्पा र गोरखा सैनिक आवाजका संस्थापक सम्पादक डा चन्द्रबहादुर गुरुङलाई सम्मान गरेको थियो ।
यसवर्ष सम्मानित हुनेहरुको छोटो परिचय
सुरेशजंग शाह
सुरेश जंग शाहको जन्म बारकोटे गाउँ जुम्ला, कर्णालीमा भएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा एमएसम्मको अध्ययन गर्नुभएको छ । बेलायतमा लामो समयदेखि बसोबास गर्दै आउनुभएका शाहको चिनारी साहित्यिक र राजनीतिक पनि छ तर यहाँ उहाँको पत्रकारिता यात्राको मात्र चर्चा गरिनेछ ।
उहाँको पत्रकारितामा संलग्नता १९९२ देखि बेलायतबाट प्रकाशन हुने सगरमाथा टाइम्सबाट भएको हो । उहाँ सो पत्रिकाको सन् १९९६ सम्म सम्पादक रहनुभयो । यसैगरी सन् १९९४ देखि २००६ सम्म यतिपत्रको सम्पादक रहनुभयो । सन् १९९५ देखि हालसम्म पनि उहाँ लालीगुराँस साहित्यिक पत्रिकाको प्रधानसम्पादक रहनुभएको छ । उहाँको सम्पादनमा सन् २००३ देखि २००४ लण्डनपोष्ट म्यागेजिन निस्केको थियो । उहाँ सन् २००३ देखि २००६ सम्म कोसेली साँस्कृतिक म्योगेजिनको सम्पादक रहनुभएको थियो ।
बेलायतमा नेपाली सामुदायिक पत्रकारिता र साहित्यिक पत्रकारिताका लागि उहाँले दिनुभएको योगदानका लागि नेपाल पत्रकार महासंघ युके शाखाले सम्मान गरेको हो ।
सुमन खरेल
नेपाली रेडियो पत्रकारितामा सुमन खरेलको जादुमय श्वरको पृथक परिचय छ । विक्रम सम्वत २०१७ सालमा काठमाडौँमा जन्मनुभएका सुमन खरेलले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एमएसम्मको अध्ययन गर्नुभएको छ ।
विक्रम सम्वत २०४१ मा रेडियो नेपालबाट प्रसारण पत्रकारिता प्रवेश गर्नु भएका सुमन खरेलले १९९२ देखि बीबीसी नेपाली सेवामा सेवा गर्न थाल्नुभएको हो । उहाँले रेडियो नेपाल, बीबीसी नेपाली सेवामा धेरै वर्ष सेवा गरिसक्नुभएको छ र हालमा उहाँ बेलायतको रक्षा मन्त्रालयबाट सञ्चालित बीएफबीएस गोरखा रेडियो र नेपालको निजी क्षेत्रको अग्रणी टेलिभिजन च्यानल कान्तिपुर टेलिभिजनमा आवद्ध हुनुहुन्छ ।
उहाँले करिब चार दशकदेखि प्रसारण पत्रकारिताबाट समाज परिवर्तनका लागि अनवरतरुपमा दिनुभएको योगदानका लागि नेपाल पत्रकार महासंघ युके शाखाले सम्मान गरेको हो ।
भगीरथ योगी
बीबीसी नेपाली सेवामार्फत नेपाल र नेपाली समुदायमा आफ्नो अलग पहिचान बनाउन सफल पत्रकार योगीको जन्म दाङमा भएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमए र बेलायतको द ओपन युनिभर्सिटीबाट विकास व्यवस्थापनमा एमएस्सी गर्नुभएको छ ।
सन् १९९३ देखि स्पटलाइट साप्ताहिकमार्फत उहाँ पत्रकारितामा प्रवेश गर्नुभएको हो । तत्पश्चात उहाँ अंग्रेजी भाषाको नेपाली टाइम्स साप्ताहिकको वरिष्ठ समाचारदाता, बीबीसी नेपाली सेवाको प्रोड्यूसर तथा नेपालन्यूज डटकमको सम्पादक रहीसक्नुभएको छ ।
उहाँ हाल साउथ एसिया टाइम्स तथा ग्लोबल नेपलिज डटकमको सल्लाहकार सम्पादक हुनुहुन्छ भने अतिकम विकसित राष्ट्रहरुको बारेमा समाचार प्रकाशन गर्ने एलडीसी न्यूजडटकमको प्रबन्ध सम्पादक हुनुहुन्छ ।
उहाँ नेपाल पत्रकार महासंघ युकेको स्थापनाकालदेखि नै सल्लाहकार रहँदै आउनुभएको छ । पत्रकार योगीले बेलायतमा नेपाली पत्रकारिताको संस्थागत विकास तथा नेपाली पत्रकारितामा पुर्याउनुभएको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघ युके शाखाले उहाँलाई सम्मान गरेको हो ।
विजय थापा
विजय थापाको जन्म रामेछाप जिल्लाको सिरुबारीमा भएको हो । नेपाल ल क्याम्पसमा आइएल अध्ययन गर्दागदै सन् १९८३ मा बेलायत आउनुभएका थापा सन् १९९२÷१९९३ देखि यति नेपाली एसोसिएसन युकेले प्रकाशन गर्ने यतिपत्रको प्रकाशन समूहमा आवद्ध हुनुभयो । सन् १९८९ मा एसिएन रेडियो नेटवर्कमा एक घण्टाको समय किनेर उहाँले नेपाली भाषाको कार्यक्रम प्रसारण गर्न शुरु गर्नुभयो । एभरेष्ट रेडियो नाम दिइएको सो रेडियो प्रसारणको शुल्क त्यतिबेला घण्टाको २५० पाउण्ड थियो । हरेक आइतबार बिहान ९ बजेदेखि १० बजेसम्म सो कार्यक्रम प्रसारण हुने गर्दथ्यो ।
उहाँ चौतारी म्यागेजिनको प्रकाशक रहनुभयो । नेपालमा म्यागेजिन छापेर बेलायतमा वितरण गर्ने योजनाका साथ उहाँ लाग्नुभएको थियो तर केही ब्याबहारिक कठिनाईका कारण यो योजना धेरै टिकेन । त्यसपछि उहाँको नेतृत्वमा सन् २००५ देखि बेलायतमा पहिलोपटक नेपाली टिभीको प्रसारण आरम्भ भयो । शुरुमा कम्युनिटी च्यानल हुँदै पछि कमर्सियल च्यानलको रुपमा नेपाली टिभी संचालन गरियो । सो टेलिभिजन करिब डेढ दशकसम्म सञ्चालन भएको थियो ।
नेपालीहरुको सीमित बसोबास, सञ्चार क्षेत्रमा लगानी फिर्ता हुने सम्भावना नहुँदा पनि लगानी बेलायतमा नेपाली मिडिया सञ्चालनमा उहाँले देखाउनुभएको साहसको कदर गर्दै नेपाल पत्रकार महासंघ युके शाखाले उहाँलाई सम्मान गरेको छ ।
चिरञ्जीवी पौडेल
चिरञ्जीवी पौडेलको जन्म पर्वत ब्यादीमा जन्मनुभएको हो । उहाँले अंग्रेजी साहित्यमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ भने बेलायतको युनिभर्सिटी अफ वेष्टमिनिष्टरबाट इन्टरन्याशनल जर्नलिज्ममा स्नातकोत्तर गर्नुभएको छ । उहाँ अमेरिकाको इन्टरन्याशल भिजिटर्स प्रोगाममा पनि सहभागी भइसक्नुभएको छ भने नेपाल पत्रकार महासंघको अन्तर्राष्ट्रिय समितिमा रहेर दुईपटक काम गरिसक्नुभएको छ ।
उहाँ नेपालको सबैभन्दा पुरानो समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)का पूर्व प्रधानसम्पादक हुनुहुन्छ । उहाँ २०५० सालमा एसोसिएट एडिटरका रुपमा रासस प्रवेश गर्नुभएको थियो । त्यसपछि राससको प्रमुख समाचारदाता हुँदै उहाँ छोटो समयमै प्रधान सम्पादकसम्म बन्न सफल हुनुभयो । पत्रकारिता यात्राका क्रममा उहाँले एसोसिएटेड प्रेस र एएनआइ न्यूज एजेन्सीमा पनि काम गरिसक्नुभएको छ ।
उहाँ २००४ देखि बेलायतमा बसोबास गर्दै आइरहनुभएको छ । पेशाले पूर्णकालिन अध्यापकमा रहे पनि उहाँ अझै विभिन्न मिडियामा लेख लेखिरहनुहुन्छ ।
नेपाली पत्रकारितामा करिब तीन दशकदेखि अविछिन्न रुपमा उहाँले पुर्याउँदै आउनुभएको सेवाका लागि नेपाल पत्रकार महासंघ युके शाखाले उहाँलाई सम्मान गरेको हो ।