मकवानपुर प्रहरी नक्कली पत्रकारको निगरानी गर्दै

संवाददाता
२९ बैशाख २०७८, बुधबार ०८:१३

हेटौंडा \ प्रेस ज्याकेट र कार्डको दुरुपयोग गरेर हिड्ने नक्कली पत्रकारको मकवानपुर प्रहरीले निगरानी थालेको छ । प्रेस ज्याकेट र कार्ड बोकेर आफुलाई पत्रकार भन्दै नक्कली पत्रकार हिडेको पाइएपछि प्रहरीले निगरानी थालेको हो । केही दिन अघि दुई जनालाई प्रहरीले जाँच गर्दा गैरपत्रकारले कार्ड र ज्याकेट दुरुपयोग पाएको थियो । दुई मध्ये एक जना हेटौंडा बजारका पसले र अर्काले बाराको एक साप्ताहिकको कार्ड बोकेका थिए । दुबै गैरपत्रकार भएको खुलेपछि प्रहरीले आगामी दिनमा यस्तो गल्ती नगर्ने सर्तमा छोडेको थियो ।

प्रहरीले गैरपत्रकारले प्रेस ज्याकेट र कार्ड दुरुपयोग भएको बारे पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलाई जानकारी गराएको छ ।महासंघ अध्यक्ष गौतमले प्रेस ज्याकेट र कार्डको दुरुपयोग गरेको पाइए कारवाही गर्न प्रहरीलाई अनुरोध गरेको जनाए ।मकवानपुरमा क्रियाशिल पत्रकारलाई समस्या पर्दा महासंघले सहयोग गर्ने बताउँदै नक्कली पत्रकारलाई कारवाहीमा महासंघले कुनै अवरोध नगर्ने उनको भनाइ छ ।

सूचना सम्प्रेषणको लागि अग्रपंक्तिमा खटिने पत्रकारलाई निषेधाज्ञामा आवतजावतमा छुट दिएकाले नक्कली पत्रकारले प्रेस लेखेर मोटरसाइकल र कार चलाउनुका साथै प्रेस ज्याकेट र कार्ड बोकेको पाइएको छ ।

यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार सञ्चारकर्मी पनि अग्र स्थानमा रहेर काम गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै समाचार सङ्कलनमा जादा कुनै अवरोध नगरेको तर चेकजाँचका क्रममा नक्कली प्रेस कार्ड बोकेर पत्रकार हुँ भन्दै हिड्नेलाई  नियन्त्रणमा लिएको बताए।

डिएसपी रिमालले पत्रकार महासंघको समन्वयमा आधिकारिक पत्रकारको प्रेस कार्ड र मिडिया हाउसको ज्याकेट लगाउने सञ्चारकर्मीलाई निर्वाध रुपमा आवतजावत गर्न दिइएको जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*