पत्रकार महासंघद्वारा पूर्ण स्वास्थ्य सकतर्कता अपनाउन आह्वान

हेटौंडा \ नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले संचारकर्मीलाई पूर्ण स्वास्थ्य सतर्कता अपनाउन आह्वान गरेको छ । महासचिव कृष्ण सारू मगरद्वारा जारी विज्ञप्तिमा प्रदेश महासंघले यस्तो आव्हान गरेको हो ।
जनतालाई सुसूचित गर्ने संवैधानिक दायित्व बोकेका सञ्चारकर्मीहरुले समाचार संकलन तथा सम्प्रेषण गर्न अस्पताल तथा स्वास्थ्य केन्द्र, आइसोलेसन, क्वारेन्टाइन क्षेत्र र भीडभाड भएका ठाउँमा अग्रभागमा रहेर समाचार संकलन कार्य गर्नुपर्ने बाध्यता भएकाले पूर्ण स्वास्थ्य सकतर्कता अपनाउन सबै सञ्चारकर्मीहरुलाई महासंघले आह्वान गरेको छ । त्यस्तै सञ्चारकर्मीहरुलाई अग्रपंक्तिमा खटिने वर्ग (फ्रन्टलाइनर) घोषणा गरि उनीहरुको स्वास्थ्य र सुरक्षाको बिशेष प्रबन्ध गर्न सरकारसँग माग समेत महासंघले गरेको छ ।
सबै सञ्चार गृहहरुलाई कार्यस्थलमा खटिने सञ्चारकर्मीका लागि पूर्वसतर्कताको तयारी गर्न, आवश्यक सामग्रीको प्रबन्ध गर्न र महासंघ जिल्ला शाखाहरुलाई बिपदको समयमा जोखिम मोलेर समाचार संकलनमा खटिने सम्पूर्ण सञ्चारकर्मीहरुलाई आवश्यक सतकर्ता अपनाएर समाचार संकलन गर्ने बातावरण निर्माणको लागि आवश्यक समन्वय गर्न महासंघले आग्रह गरेको छ । महासंघ प्रदेश समितिले प्रदेश सरकार एवं स्थानीय तहसंग समन्वय गरि सञ्चारकर्मीहरुलाई स्वास्थ्य समग्री र राहत एवं उपचारका लागि समन्वय तथा पहल गरिरहेको जनाएको छ ।
महासंघले समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र यथार्तपरक समाचार सम्प्रेषण गरी जनतालाई सहि सूचना प्रवाह गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ । महासंघका अनुसार काठमाडौं उपत्यका बाहेकका १० जिल्लामा वैशाख २७ गतेसम्म ३१ जना सञ्चारकर्मी कोभिड १९ बाट संक्रमित भई स्वास्थ्य उपचार गराइरहेका छन् । संक्रमित भएकामध्ये मकवानपुरमा १०, रामेछापमा ६, काभ्रेमा ४, चितवनमा ३, धादिङमा ३, सिन्धलीमा २, नुवाकोटमा १, सिन्धुपाल्चोकमा १ र दोलखामा १ जना रहेका छन् ।