यस्तो छ, मकवानपुरमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णय

संवाददाता
२१ बैशाख २०७८, मंगलवार १८:५२

मकवानपुर जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले थप कडाईका साथ थप निर्णय गरेको छ । मंगलबार हेटौंडामा बसेको बैठकले विभिन्न निर्णय सँगै हेटौंडा बजारमा दैनिक उपभोग्य वस्तुको व्यवसाय विहान ८ बजे सम्म सञ्चालन हुने भनी समेत निर्णय गरेको छ ।

निर्णयहरू:-
१) कोभिड-१९ को यस विषम परिस्थितिमा बिरामीहरूको लागि आवश्यक पर्ने रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाईटी, शाखा कार्यालय, मकवानपुरले आवश्यकता अनुसार ब्लड संकलन अभियान सञ्चालन गरी आवश्यक व्यवस्था मिलाउने ।
२) श्री गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा, सिंहदरबार, काठमाडौंको च.नं. ३१५८, मिति २०७८-०१-२० को पत्र र श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौंको च.नं. १५७६, मिति २०७८-०१-२० को पत्रबाट मिति २०७८-०१-१९ को नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय कार्यान्वयनका लागि लेखि आएको सन्दर्भमा यस जिल्लामा देहायबमोजिम गर्ने, गराउने ।
(क) कोभिड-१९ को महामारीको उच्च जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य उपचार प्रयोजनका लागि आवश्यक परेसम्म निर्माण र उद्योग व्यवसायलगायत अन्य प्रयोजनमा अक्सिजन आपूर्ति र प्रयोग गर्न रोक लगाउने । स्वास्थ्य उपचार बाहेक अन्यत्र प्रयोग भइरहेका अक्सिजन सिलिण्डरहरू ३ (तीन) दिनभित्र अक्सिजन सप्लायर्सकहाँ पुर्याई भर्न लगाई अस्पताल र स्वास्थ्य प्रयोजनमा मात्र ल्याउने ।
(ख) जिल्लाभित्र सञ्चालित राष्ट्रिय जनगणना, २०७८ का सम्पूर्ण गतिविधिहरू स्थगन गर्ने ।
(ग) कोभिड रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारका लागि स्थानीय तहको आन्तरिक स्रोत पर्याप्त नभएमा सम्बन्धित स्थानीय तहहरूले नेपाल सरकार तथा प्रदेश सरकारमा अनुरोध गर्ने ।

३) श्री गृह मन्त्रालय, स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखा, सिंहदरबार, काठमाडौंको च.नं. ८२०, मिति २०७८-०१-२० को पत्रसाथ संलग्न प्रतिनिधि सभा, महिला तथा सामाजिक समिति, संघीय संसद भवन, सिंहदरबार, काठमाडौंको च.नं. १६०, मिति २०७८-०१-१४ को पत्रबाट निषेधाज्ञा एवं बन्दाबन्दीको क्रममा महिला, बालबालिका, जेष्ठ नागरिक, फरकरूपले सबल एवं लैंगिक अल्पसंख्यकहरूमाथि हुनसक्ने हिंसा न्यूनिकरणरनियन्त्रणमा पूर्व तयारी गर्न, उल्लिखित लिंग, वर्गमैत्री क्वारेन्टाइन र आइसोलेशनको प्रबन्ध मिलाउन लेखि आएको सन्दर्भमा सबै स्थानीय तहहरूले उल्लिखित लिंग, वर्गमैत्री क्वारेन्टाइन र आइसोलेशनको प्रबन्ध मिलाउने र हिंसा न्यूनीकरणरनियन्त्रणका लागि पूर्व तयारी समेत गर्ने ।

४) श्री गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा, सिंहदरबार, काठमाडौंको च.नं. ३१५४, मिति २०७८-०१-२० को पत्र र स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र, काठमाडौंको च.नं. १५७३, मिति २०७८-०१-२० को पत्रबाट अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि लेखि आएको सन्दर्भमा अस्पताल प्रयोजन बाहेक अन्यत्र प्रयोग भएका अक्सिजनको लगत तयार गर्ने र आवश्यकता अनुसार प्रहरी समेत परिचालन गरी विभिन्न उद्योग तथा विद्युत आयोजनाहरूमा स्टकको रूपमा रहेका तथा अन्यत्र प्रयोग भएका अक्सिजन सिलिण्डरहरू अक्सिजन सप्लायर्स कहाँ पुर्याई भर्न लगाई अस्पताल र स्वास्थ्य प्रयोजनमा मात्र ल्याउने ।
५) जिल्लाभित्र कोभिड-१९ संक्रमितहरूको संख्यामा तीव्र वृद्धि भइरहेको अवस्थालाई मध्यनजर गर्दै राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गर्ने अभियान अर्को निर्णय नभएसम्म हाललाई स्थगन गर्ने ।

६) औद्योगिक प्रतिष्ठानहरूले उद्योगमा कार्यरत मजदूर कर्मचारीहरूलाई जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गरी, गराई उद्योग परिसरभित्रै वा निश्चित स्थानमा राखी बाहिर आवत जावत नहुने सुनिश्चितता गरी उद्योग सञ्चालन गर्न सकिने मिति २०७८-०१- १८ को प्रमुख जिल्ला अधिकारीको आदेश बमोजिम सम्बन्धित औद्योगिक प्रतिष्ठानहरूले जिल्ला प्रशासन कार्यालय, मकवानपुरलाई जानकारी उपलब्ध गराई निश्चित सवारी साधनहरूको प्रयोग गरी विहान ४ देखि ६ बजेभित्र कर्मचारी तथा श्रमिकहरूलाई उद्योग परिसरभित्र प्रवेश गराइसक्ने गरी र साँझ ५ देखि ७ बजेभित्र उद्योग परिसरबाट बाहिर पठाउने गरी घरबाटै ल्याउने र पुर्याउने व्यवस्था मिलाउने । तर, यसरी व्यवस्था मिलाउँदा कर्मचारी तथा कामदार घर फर्किसकेपश्चात् समुदायमा घुलमिल भए, नभएको अनुगमन निरीक्षण सम्बन्धित उद्योग र उद्योग संघ मकवानपुरले गर्ने र नियमितरूपमा डिसीसीएमसीको बैठकमा प्रतिवेदन पेश गर्ने ।

७) बैंक तथा वित्तिय संस्थाहरू जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भिडभाड नहुने गरी आलोपालो विधिबाट विहान १० बजेदेखि दिनको २ बजेसम्म मात्र सञ्चालन हुने व्यवस्था बैंकर्स एसोसिएशन मकवानपुरले मिलाउने र सो को जानकारी जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र, मकवानपुरलाई गराउने ।
८) मिति २०७८-०१-१८ गते प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) विक्री वितरण गर्ने पसलहरू विहान ५ बजेदेखि विहान ९ बजेसम्म मात्र खोल्न पाइने व्यवस्था गरिएकोमा विक्री वितरणको समय विहान ५ बजेदेखि विहान ८ बजेसम्म मात्र तोक्न प्रमुख जिल्ला अधिकारीसमक्ष सिफारिस गर्ने ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*