हेटौंडामा लागु भएको निषेधाज्ञामा के गर्न पाइन्छ ?, के गर्न पाईदैन ?

हेटौंडा \ निषेधाज्ञाको समयमा औषधी उपचार, खाद्य तथा अत्यावश्यक वस्तु खरिद गर्न नजिकको स्थानमा जान बाहेक सर्वसाधारणहरु घर बाहिर निस्किन पाइदैनन् । अत्यावश्यक उपभोग्य वस्तुहरु खाद्यान्न, पानी, दूध, माछामासु, अण्डा, फलफूल तथा तरकारी विक्री गर्ने पसल विहान ५ देखि ९ बजेसम्म मात्र खोल्न पाइनेछ ।
औषधि पसल, पेट्रोल पम्प, ग्यास डिपो, अक्सिजन सिलिण्डर पसल, सवारी साधन मर्मत गर्ने वर्कसप भने नियमित सञ्चालन गर्नुपर्नेछ । यी बाहेक बाँकी सबैखालका पसलहरु पूर्ण रुपमा बन्द हुनेछ । एम्बुलेन्स, विरामी बोकेका गाडी, खाद्य, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ, स्वास्थ्य सामग्री बोक्ने गाडी, शव बहान, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपन्छिका दाना, कृषि मल तथा विउविजन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत र इन्टरनेटका गाडी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गाडी बाहेक सबै सार्वजनिक र निजी सवारी सञ्चालन गर्न पाइनेछैन ।
निषेधाज्ञामा सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंकिङ तथा वित्तिय संस्था, अत्यावश्यक सेवा प्रवाह गर्ने क्षेत्रमा कार्यरत कर्मचारी तथा कामदारले सम्बन्धित कार्यालयले जारी गरेको परिचयपत्र र समाचार संकलन एवम् सम्प्रेषण गर्ने कार्यमा खटिने सञ्चारकर्मीले पहिचान खुल्ने फोटोसहितको परिचयपत्रको आधारमा आवतजावत गर्न पाउनेछन् । अन्य जिल्लाबाट आएका पूर्वपश्चिम राजमार्ग भएर सञ्चालन हुने लामो दुरीको सवारीको हकमा भने जिल्लामा नरोकिने गरी आवतजावत गर्न पाउनेछन् ।
यस्तै अत्यावश्यक सरकारी सेवा एक तिहाई कर्मचारीको व्यवस्थापन गरी आलोपालो प्रणालीमा सञ्चालन गर्नुपर्नेछ । बैंक, वित्तिय संस्था तथा सहकारीबाट प्रदान गर्ने सेवाको हकमा भने जनस्वास्थ्यका मादपण्ड अनिवार्य पालना गरी भिडभाड नहुने गरी आलोपालो विधिबाट विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्नुपर्नेछ । तर एटीएम तथा विद्युतीय सेवा भने २४ घण्टै सुचारु राख्नुपर्नेछ ।