साविक विजेता जावलाखेल सेमीफाइनलमा

हेटौंडा \ साविक विजेता जावलाखेल युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी चौथो बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । बारा सिमराको नवजनजागृति युवा क्लबलाई ४–१ गोल अन्तरले हराउँदै जावलाखेलले सेमीफाइनल भिडन्त पक्का गरेको हो ।
जावलाखेलको लागि चारैगोल विदेशी खेलाडी फोडे फोफोनाले गरेका हुन् । पहिलो हाफमै ह्याट्रिक पूरा गरेका उनले दोस्रो हाफमा थप एक गोल गरेका थिए । नवजनजागृति युवा क्लबको तर्फबाट एकमात्र गोल शेरप लो तामाङले गरेका थिए । खेलको म्यान अफ द म्याच जावलाखेलका फोडे फोफोना नै घोषित भए ।
उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । जारी प्रतियोगितामा बिहीबार थ्रीस्टार क्लव र सशस्त्र प्रहरीको एपीएफ क्लव खेल्नेछ । यही २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ । बागमती गाउँपालिकाको मुख्य प्रायोजन तथा बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा बागमती गोल्डकप फुटबल प्रतियोगिता हुँदै आएको छ ।