कविता “एउटा यस्तो मृत्यु” -मुकुल दाहाल

कविता
“एउटा यस्तो मृत्यु”
-मुकुल दाहाल
(कोभिड १९ बाट मृत्यु भएकाहरूमा)
जुन बेला
कोभिडले उसको
सास खोसिरहेको
थाहा पायो
डाँडा पारी उता
घाम डुबिसकेको थियो
अस्पाताल छिरे पछि त
न आफ्नाहरूले आफैँलाई
ढाक्तै गरेको अँध्यारो देखे
न उसले उनीहरूलाई खाइरहेको
छटपटी देख्यो
कुनै आखेटकको
सुइरोबाट घोचिएर
हाँगामा बसिरहेको ढुकुर
फुत्रुक्क् खसेजस्तै गरी
कोभिडको सुइरोले
खसाल्यो उसको जीवन
उसकी संगीनी र सन्तानहरू
हिउँको बाकसमा थुनिए जस्तो
यता घरमै कक्रक्क परिरहे
सधैँ संगै बाँचेका उनीहरू
छुट्टिने बेलामा कहाँबाट आयो
यस्तो अंध्यारो र ढाक्यो उनीहरूको संसार?
किन देख्न पाएनन उनीहरूले
उसको अनुहारको अन्तिम उज्यालो?
जाने बेलामा किन राख्न सकेनन उनीहरूले
उसको मुखमा एक घुट्को स्नेह?
कुन सृष्टिकर्ताले बनायो कोभिड
नाम गरेको आखेटक?
जीवनभर जुन भगवानको पुजा गरे उनीहरूले
त्यही भगवानसँग एकदम क्रुद्ध भई रहे ।
(कबि मुकुल दाहाल हाल बेलायतको एबर्डिनमा बसोबास गर्नु हुन्छ)