१० महिनामा १२ खर्ब चार अर्ब बराबरको व्यापार घाटा: भन्सार विभाग

खबर बाकस/ भन्सार विभागले आइतबार सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ। उक्त अवधिमा मुलुकले १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको माल वस्तु आयात गरेको छ।
दश महिनाको अवधिका कूल १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। विभागका अनुसार सो अवधिमा नेपालले एक खर्ब ३० अर्ब ९० करोड बराबरको मालवस्तु निर्यात गरेको छ। सो अवधिका वस्तु आयात र निर्यात दुवै घटेको छ।
आव २०७८/७९ को १० महिनाको अवधिमा नेपालले रु एक खर्ब ७३ अर्ब ३४ करोड बराबरको माल वस्तु निर्यात गरेको थियो। गत वर्षको तुलनामा चालु आवको १० महिनामा वस्तु निर्यात २४ दशमलब ४९ प्रतिशतले घटेको छ।
विभागका अनुसार आव २०७८/७९ मा १६ खर्ब चार अर्ब ६५ करोड २५ लाख रुपैयाँ बराबरको कूल आयात गरेकामा चालु आवको १० महिनामा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको आयात भएको जनाईएको छ।
भन्सार विभागका अनुसार कारोबारका आधारमा आव २०७८/७९ १७ खर्ब ७८ अर्ब बराबरको व्यापार भएकोमा चालु आवको १० महिनामा १४ खर्ब ६६ अर्ब २२ करोड रुपैयाँ बराबरको व्यापार भएको छ।