मौन अवधिमा भोट मागेको भन्दै प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो ८ घन्टे स्पष्टीकरण

खबर बाकस/ निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ८ घन्टे स्पष्टीकरण सोधेको छ। मौन अवधिमा छोरीको पक्षमा भोट मागेको भन्दै आयोगले ८ घन्टाभित्र लिखित जवाफ पेश गर्न माग गरेको हो।
प्रचण्डले बिहीबार बिहान ७:१५ बजे माडी नगरपालिकाको होटल प्याराडाइजमा गठबन्धनका उम्मेदवार र कार्यकर्ताहरुसहित करिब ३० जना व्यक्तिहरुसँग भेटघाट गरेको आरोप आयोगको छ। ‘भरतपुर महानगरपालिका वडा नं २६ चनौली र दिव्यनगरमा कार्यकर्ता भेटघाट गरी स्थानीय तह निर्वाचनमा गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकामा उम्मेदवार रहनुभएका व्यक्तिको पक्षमा मत मागी आज विहान ९:४० बजे टोली, सुक्ष्म अनुगमन टोली र सुरक्षा निकायसमेतबाट प्राप्त हुन आएको छ,’ आयोगको पत्रमा भनिएको छ।
प्रचण्डलाई निर्वाचन आचारसंहिताको उल्लंघन भएको अवस्थामा किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधेको हो। भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट प्रचण्डकी छोरी रेणु दाहाल प्रमुख पदका उम्मेदवार रहेकी छन्।