टी-२० क्रिकेट सिरिजमा नेपालको विजयी सुरूआत

संवाददाता
१४ चैत्र २०७८, सोमबार २२:३५

नेपाल/पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीच त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा नेपालले पिएनजीलाई १५ रनले पराजित गरेको हो। नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पिएनजी चार बल खेल्न बाँकी छदा १६८ रनमा अलआउट भयो। अन्तिम ओभरमा पिएनजीलाई १७ रन चाहिएको थियो भने उसको एक विकेट बाँकी थियो। जसमा नेपालले दोस्रो बलमा रनआउटमार्फत पिएनजीको अन्तिम विकेट लियो।

पिएनजीका लागि नोर्मान भानुआले अर्धशतक प्रहार गरे। ५२ रन बनाएर खेलिरहदा उनी १९औं ओभरको पाँचौ बलमा करण केसीले एलबिडब्लूको धरापमा पारेका थिए। छैटौं बलमा सिमोन अताइ शून्यमा आउट भएपछि नेपाल सहज स्थितिमा पुगेको थियो। पिएनजीका ओपनर टोनी उरा ५ रनमा आउट भए। लेगा सिएका २१ रनमा पेभिलियन फर्किदा कप्तान असद भालाले ७ रनमा भन्दा बढी जोड्न सकेनन्। चार्ल्स अमिनीलाई अबिनास बोहराले २२ रनमा बोल्ड गरे। सेसे बाउ पनि ३० रन बनाएर खेलिरहदा नेपालका कप्तान सन्दीप लामिछानेको एलबिडब्लूको धरापमा परे। रिले हेकुरे ३ रन र जासन किला शून्यमा आउट भए।

बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। उनले ४ ओभरमा ४४ दिएका थिए। कप्तान सन्दीप लामिछानेले पनि ३ विकेट हात पारे। उनले ४ ओभरमा २२ रन खर्चिए। अबिनास बोहराले २ विकेट लिए उनले ४ ओभरमा २९ रन दिए। सोमपाल कामीले १ विकेट लिए।

त्यसअघि पिएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा १८३ रन जोड्यो। नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले ४३ रन जोडे। उनले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे। त्यसअघि ओपनर कुशल भुर्तेल २० रनमा रनआउटको सिकार बनेका थिए। उनले ११ बलमा ३ चौका र १ छक्का प्रहार गरे। रोहितकुमार पौडेलले २६ बलमा ३४ रन जोडे। उनले २ चौका र १ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरी ४ रन, कुशल मल्ल ११ रन र लोकेश बम ५ रन मा आउट भए। तेस्रो ओभरमा २५ रन बनाउदा पहिलो विकेट गुमाएको नेपालका लागि दोस्रो विकेटका लागि आसिफ र रोहितले ८० रनको साझेदारी गरेको थियो। १२ ओभरमा दोस्रो विकेट गुमाएको नेपालले त्यसपछि १६ ओभरसम्ममा प्रत्येक ओभरमा विकेट गुमाएको थियो। जसका कारण १६ ओभरमा नेपालले ६ विकेट गुमाउँदा १४१ रन जोडेको थियो। १८ औं ओभरमा आउट भएका करण केसीले ७ बलमा १४ रन बनाए। उनले २ छक्का प्रहार गरेका थिए। सोमपाल कामी १ रनमै आउट भए। अन्तिम ओभरमा आरिफ शेख २२ बलमा ३१ रन जोडेर आउट भए। बलिङमा पिएनजीका अलेइ नाओ, चाड सोपर र चार्ल्स अमिनीले २-२ विकेट लिए। सिरिजमा भोलि मलेसिया र पपुव न्युगिनीबीच खेल हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*