बागमती प्रदेश अधिवेशन सुरु, भोली मनोनयन दर्ता

संवाददाता
१६ मंसिर २०७८, बिहीबार १६:०१

खबरबाकस \ नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्तरगत बागमती प्रदेशको प्रथम अधिवेशन हेटौंडामा सुरु भएको छ ।

प्रदेशको राजधानी हेटौंडाको वन विज्ञान खेल मैदानमा बिहीबारबाट सुरु भएको अधिवेशन पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो । उद्घाटन सँगै अभिवेशनको सुरुवात भएको घोषणा गर्नुभएको थियो ।

कांग्रेस नेता तथा अधिवेशन बागमती प्रदेश संयोजक प्रकाशमान सिंहको सभाध्यक्षतामा भएको उद्घाटन सत्रमा कांग्रेस सह–महामन्त्री प्रकाश शरण महत, पुर्व मन्त्री एवम कांग्रेस नेता राजन केसी, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ लगायतका नेताले आफ्नो भनाइराख्नुभएको थियो । अधिवेशनमा १३ जिल्लाका एक हजार ९६० अधिवेशन प्रतिनिधिहरुको सहभागिता हुदैछन् । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछन् ।

प्रदेश सभापतिका लागि देउवा पक्षबाट बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका निवर्तमान सभापति जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट काठमाडौं जिल्लाका पूर्व सभापति एवम् पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानको उम्मेदवारी रहने चर्चा रहेको छ ।

आजबाट सुरुभएको अधिवेशनमा भोलि १७ गते नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता हुने कार्यक्रम छ भने १८ गते मतदानको कार्यक्रम रहेको निर्वाचन पक्षले जनाएको छ । प्रदेश अधिवेशनले एक सभापति, दुई उप–सभापति, दुई महामन्त्री र एक महिलासहित तीन सह–महामन्त्री र सदस्यहरुसहित नयाँ नेतृत्व चयन गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*