लैङ्गिक हिंसारहित समाज निर्माण गर्न सबै सहयोग आवश्यक : प्रधानमन्त्री देउवा

संवाददाता
९ मंसिर २०७८, बिहीबार ०९:२४

काठमाडौं \  प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक हिंसारहित समाज र मुलुक निर्माण गर्न सबैको सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा एक सन्देश जारी गर्दै उहाँले अभियानलाई प्रभावरकारी रूपले मनाउन सङ्घ, प्रदेश र स्थानीय तहलगायत सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष नेपालमा पनि ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको छ ।

देशव्यापी रुपमा लैङ्गिक हिसाविरुद्धको अभियानमा अग्रसर भई हिंसा न्यूनीकरणमा योगदान पु¥याउने राजनीतिकर्मी, नागरिक समाज, राष्ट्रिय अन्तर्राष्ट्रिय सरकार तथा गैरसरकारी सङ्घसंस्थालगायत सरोकारवाला सम्पूर्ण निकायको समन्वयमा सुरक्षित तरिकाले विभिन्न कार्यक्रम आआफ्नो स्थानबाट अभियानका रूपमा सञ्चालन गरिने उहाँले बताउनुभयो ।

सन्देशमा भनिएको छ, ‘यस अभियानले हामी सबैलाई कुरीति, पछौटेपन, अशिक्षा, अन्धविश्वास र हानिकारक अभ्यासका कारण समाजमा देखिने लैङ्गिक हिंसाको पूर्णरूपमा अन्त्य गर्न थप ऊर्जा मिलोस् ।’

उहाँले अभियानमा मुलुकभर विभिन्न तह र निकायबाट सञ्चालन हुने क्रियाकलापले लैङ्गिक हिंसारहित सभ्य र समतामूलक समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

लैङ्गिक हिंसाको अन्त्य गर्न, हिंसापीडित तथा प्रभावितको मानवाधिकारको संरक्षण र सम्वर्द्धनका लागि संवेदनशील हुुनुका साथै लैङ्गिक हिंसा अन्त्य गर्ने सरकारको अभियानमा सबैको प्रतिबद्धता र ऐक्यबद्धताका गर्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*